फागुन २१ को निर्वाचन सबै मिलेर सफल बनाउन प्रधानमन्त्री कार्कीको आह्वान ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई “राष्ट्रिय अनुष्ठान” का रूपमा ग्रहण गर्न सबैलाई आग्रह गरेकी छन्।
सूर्य आराधनासँग सम्बन्धित महान पर्व छठको अवसरमा आइतबार जारी गरेको शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै निर्वाचनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएकी हुन्।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, आगामी निर्वाचनलाई पनि एक राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्दछु। उनले हालको संवेदनशील परिस्थितिमा प्रत्येक पक्षले आफ्नो जिम्मेवारीको बोध गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन योगदान दिनुपर्ने उल्लेख गरेकी छन्।
प्रधानमन्त्री कार्कीको भनाइमा, सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन। आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आमजनताको मन जितेर निर्वाचनमार्फत अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम मार्ग हो। छठ पर्वको सन्दर्भमा उनले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश पनि व्यक्त गरेकी छन्। उनका अनुसार, अहिलेको अवस्थामा नेपालीबीच अझ बढी आपसी एकता र सद्भावको आवश्यकता छ।
प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, पवित्र आस्था, कठिन व्रत र सिङ्गारिएका नदी तथा तलाउका किनाराहरूमा देखिने उत्सवले सबैमा सद्भाव, शक्ति र खुसियाली छाओस्। छठ पर्वले सत्य, अहिंसा र प्रकृति–प्रेममा अभिप्रेरित गर्दै तराई र पहाडबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाउने सेतुको काम गरिरहेको उल्लेख पनि सन्देशमा गरिएको छ। प्रधानमन्त्री कार्की हालको चरणमा आफ्नो ध्यान निर्वाचन तयारी र त्यसको सफल व्यवस्थापनमा केन्द्रित गरिरहेकी छन्।