संसद पुनस्थापना नगरे संविधानलाई ट्र्याकमा ल्याउन सकिन्न - एमाले ।

२०८२ असोज ३१ शुक्रबार ११:४६:०० मा प्रकाशित

काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठकको दोस्रो दिनसम्म आइपुग्दा १ सय ३४ जना सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत “मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति” विषयक विशेष प्रस्तावमाथि आफ्ना धारणा व्यक्त गरेका छन्।

ललितपुरमा जारी बैठकबारे जानकारी दिंदै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएअनुसार, सदस्यहरूले संविधान र जनअधिकारको रक्षाका लागि प्रतिनिधिसभाको पुनर्स्थापना अपरिहार्य भएको निष्कर्षमा जोड दिएका छन्।गौतमका अनुसार, संविधान पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याएर व्यापक जनपरिचालनमार्फत निर्णयमा पुर्याउनुपर्ने मत बहुसंख्यक रूपमा व्यक्त गरिएको छ।उनका शब्दमा  “संविधानलाई पुनः सही मार्गमा ल्याउने एक मात्र सहज उपाय संसद पुनर्स्थापना नै हो।”

एमालेले यसअघि निर्वाचन आयोगसँगको छलफलमा ७ बुँदे धारणा बुझाएको उल्लेख गर्दै गौतमले हालसम्म निर्वाचनको अनुकूल वातावरण बन्न नसकेको विषयमा पार्टी स्पष्ट रहेको बताए। उनले थपे, “सरकारले निष्पक्ष निर्वाचनको वातावरण सृजना गर्न आवश्यक पहल गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो।”

त्यसैगरी, हालैको GenZ आन्दोलन सम्बन्धी घटनाबारे एमालेले निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने मागसमेत राखेको गौतमले जानकारी दिए।

बैठक शुक्रबार बिहान पुनः बस्नेछ। बाँकी सदस्यहरूले आफ्नो धारणा राखेपछि सम्भव भएसम्म शुक्रबारकै दिन बैठक सम्पन्न गर्ने तयारी गरिएको एमालेले जनाएको छ।