रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडौ, साउन ९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक समिति गठन नहुनुमा असन्तुष्टि जनाउँदै बैठकमा सहभागी नभएको जनाएका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाकी सांसद विनिता कठायतलाई बोल्ने अनुमति दिए। कठायतले भिजिट भिसा प्रकरणमा मागअनुसार छानबिन समिति नबनाएको भन्दै छानबिन प्रक्रिया सुरु नभएसम्म निरन्तर विरोध जारी रहने स्पष्ट पारिन्।
त्यसपछि राप्रपाका सांसद धवलशमशेर राणालाई सभामुखले बोल्ने अवसर दिए। राणाले पनि विगतदेखि उठाउँदै आएको मागअनुसार समिति गठन नभएको उल्लेख गर्दै समिति गठन नभएसम्म आफ्नो दलको विरोध जारी रहने बताए।