कविताः महलमा छोडिएका गधाहरू

२०८२ असार १९ बिहीबार ०८:०८:०० मा प्रकाशित

खोरबाट झिकेर महलभित्र छाडिएका,
गाउँलेहरूले छानेका गधा मजाले सिंगारिएका छन्,
चाँदीका कुर्सीका नरम गद्दीमा बसिरहेका,
पश्मिनाका दाम्लो घाटिमा बाँधिएका छन्।

महल नदेखेका स्वाठहरूको गजबको दोहोरी चलिरहेछ,
बायाँपट्टि बसेका गधाहरू उफ्रीरहेछन्,
दायाँपट्टि बसेका गधाहरू चिच्याइरहेछन्।
एउटाले भन्छ, ‘तँ मूर्ख गधा होस्’,
अर्को झन जोरले कराउँछ, ‘तँ झन महामूर्ख गधा होस्!’

यो रमिताले ओझेल परेका छन् बस्ती विकासका योजनाहरू,
गाउँलेहरू टोलाएर हेरिरहेछन् यो अनपेक्षित रमिता,
पुर्पुरोमा हात राखेर आफैंलाई धिकार्दै सोचिरहेछन्,
‘‘बाच्छाहरू पनि थिए, गाई बन्थे होला,
दूध दिन्थे, खिर खाइन्थ्यो होला।
घाँस प्रशस्त छदैथियो, दूध-घ्यु बेचिन्थ्यो,
नुन, कपडा, दाम आउँथ्यो।’’

ती सोझा बाच्छाहरू छोडेर गधा नै रोजियो,
डंका पिट्ने झोलाछापलाई महलमा राखियो।
गाईलाई पछारेर गधालाई माया गरियो,
त्यही गल्तीले अनेकौँ दुःख पाइयो।
पछुताउँदै छन् गाउँलेहरू, गधाहरू नाङ्गो नाच नाचिरहेछन्,
बाँकी भेँडाहरू निर्लज्ज हास्दै ताली पिटिरहेछन्।

 ई बिबेक पन्त
(शुक्लाफाँटा नगरपालिका–७, कञ्चनपुर)