एसईईमा इन्टरनेसनल पब्लिक स्कूलको उत्कृष्ट नतिजा, ३६ विद्यार्थीले ल्याए ए प्लस
महेन्द्रनगर। भीमदत्त नगरपालिका–३ स्थित इन्टरनेसनल पब्लिक स्कूलका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। विद्यालयका ३६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्म ग्रेड पोइन्ट एभरेज (जीपीए) ल्याउँदै ए प्लस श्रेणीमा उर्तिण भएका छन्।
स्कुलका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार ६० जनाले ३.२ देखि ३.६ जीपीए (ए), १७ जनाले २.८ देखि ३.२ जीपीए (बी प्लस) र १ जनाले २.४ देखि २.८ जीपीए (बी) प्राप्त गरेका छन्। स्कूल टप सुप्रित रावलले गरेका छन्।
उनले ३.८३ जीपीए ल्याएर स्कुल टप गरेका हुन्। त्यस्तै, हृदयमणि जोशीले ३.८० जीपीए ल्याउँदै दोस्रो भएका छन् भने प्रतिक सिंह र सिद्धान्त भट्टले समान ३.७८ जीपीए ल्याएर स्कुलमा तृतीय भएका छन्।
‘विद्यार्थीहरूको यो सफलता केवल अंकमा मात्र होइन, उहाँहरुको कडा परिश्रम र समर्पणको परिणाम हो।,’ प्रिन्सिपल भट्टले भने, ‘यस यात्राभर दिनुभएको अटल समर्थन, धैर्य र प्रोत्साहनका लागि अभिावकप्रति कृतज्ञता व्यक्त गर्दछौं। यो सफलता विद्यार्थीसँगै अभिभावकको पनि हो।’
विद्यालयको शैक्षिक वातावरण, शिक्षकहरूको समर्पण, अभिभावकहरूको साथ र विद्यार्थीको कडा मेहन्तका कारणले उत्कृष्ट नतिजा आएको उनी बताउँछन्। ‘विद्यालय परिवारको तर्फबाट सबै उत्तीर्ण विद्यार्थीहरूलाई भविष्यमा अझ उत्कृष्ट प्रगतिको कामना गर्दछौं,’ उनले भने।
२०५४ सालमा स्थापना भएको इन्टरनेसनल पब्लिक स्कूलले ३ दशकको गौरवमय शैक्षिक यात्रा गर्दै रजत महोत्सव समेत मनाइसकेको छ। इन्टरनेसनल स्कूल महेन्द्रनगरसँगै सुदूरपश्चिम प्रदेशमै एकल बर्चस्व कायम राख्न सफल भएको छ।
जुन अहिलेसम्म अन्य कुनै संस्थागत विद्यालयले तोड्न सकेको छैन। २०७२ सालको एसएलसी परीक्षामा इन्टरनेसनल स्कूलका विद्यार्थी सुभाष लामिछानेले नेपालमा तेस्रो स्थान (नेपाल थर्ड) भएका थिए। उनीहरु हाल डाक्टरको रूपमा कार्यरत छन्।
त्यसैगरी, २०८० सालको एसईई परीक्षामा सोमित कार्कीले पूर्ण ४.० जीपीए ल्याएर कीर्तिमानी सफलता हासिल गरेका थिए। उनी हाल काठमाडौंमा अध्ययनरत छन्। जिल्लाभरका संस्थागत विद्यालयहरूमा एसईईमा सबैभन्दा बढी विद्यार्थी उर्तिण गाराउने स्कुलका रुपमा इन्टरनेसनल पब्लिक स्कूल अग्रस्थानमा रहेको छ।
विद्यालयले नेपाल सरकारबाट क्षेत्रीय प्रथम भई सात पटकसम्म राष्ट्रिय ध्वजा, विद्या शिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान प्राप्त गरिसकेको छ। यहाँ अध्ययनरत विद्यार्थीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम र प्रतियोगिताहरूमा नियमित, प्रभावशाली उपस्थिति जनाउँदै आएका छन्।