गजलः रकम आएको छ...

२०८२ असार १० मंगलबार २०:५०:०० मा प्रकाशित

सुनिन्छ अचेल गाँउमा नगरमा, टन्नै रकम आएको छ ।
पाउने कस्ले नपाउने कस्ले, सँगै जखम आएको छ ।।

दुःख लाग्छ ऊ त्यो ठूलो दरबार, युवा बेच्ने अड्डा बन्यो ।
घुम्ने मेचको लागि अरब र खाडीबाट, श्रम आएको छ ।।

मुखामुख गर्दै झुण्ड झुण्डमा, सुनिन्छ बढ्छ बढ्छ भनेको ।
सेतो सर्टमाथि कोट लाउनेलाई, हेर रमझम आएको छ ।।

अल्पसंख्यक, पिछडा भनी, महिना गन्दै बस्छन् कोही ।
घट्छ कि भत्ता भन्ने सोचमा, बुढाबालाई दम आएको छ ।।

बिरोध गर्दै कुरा काट्दै हिँडेका छन्, गल्लीमा युवा केही ।
बुझिन्छ आसेपासे झोले चम्चेलाई, अलि कम आएको छ ।।

उत्पादन स्वदेशी न्यून छ यहाँ, हात त थाप्नै पर्ने होला ।
गरिव निमुखालाई ऋण र महँगी, बढ्ने गम आएको छ ।।

खिचातानी झैझगडा, गोजी आफ्नै भर्ने खेलले अब ।
विश्वमाझ शाख खस्किँदै गयो, देशलाई जुल्म आएको छ ।।