भीमदत्त नगरको बजेट १ अर्ब ९३ करोड, छोरीबुहारीका लागि उच्च शिक्षामा नयाँ कार्यक्रम
महेन्द्रनगर। भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले मंगलबार १७ औं नगर सभाबाट आगामी बर्षका लागि १ अर्ब ९३ करोड ८३ लाख २३ हजार ३ सय १९ रुपैयाँ बराबरको बजेट ल्याएको छ।
पूँजीगत वित्तिय समानीकरण वडागत पुँजितर्फ १२ करोड ७ लाख, विषयगत शाखातर्फ २०लाख, नगरस्तरीय पूँजीगत योजना ५ करोड ८३ लाख ८६ हजार ६ सय ८१ रुपैयाँ, सवारीसाधन मर्मत ५३ लाख ७३ हजार ३ सय १९ रुपैयाँ बजेट छ।
यसैगरी, पूँजीगततर्फ ५ करोड ६४ लाख, सशर्त अनुदान खर्च ५४ करोड ९० लाख, विशेष अनुदान खर्च २ करोड ३८ लाख, समाजिक सुरक्षा ५७ करोड, सडक बोर्ड १ करोड, शहरी विकास आयोजना २० लाख गरेर १ अर्ब ९३ करोड, ८३ लाख, २३ हजार ३१९ बराबरको बजेट रहेको छ।
नगरपालिकाको आन्तरिक आयतर्फ २४ करोड ९२ लाख ३६ हजार ६ सय ८१, वडा कार्यालय चालुतर्फ ६६ लाख ५० हजार, विषयगत शाखा कार्यक्रमतर्फ २ करोड २० लाख, नगर विकास कोषतर्फ १ करोड, भारतीय दुताबास म्याचिङतर्फ २ करोड, नगर स्तरीय पुँजिगत १ करोड २ लाख १३ हजार ३ सय, सवारी साधन मर्मत ५४ लाख, विभिन्न कोषतर्फ २ करोड ६५ हजार विनियोजन गरिएको छ ।
नगरपालिकाले आउँदो आर्थिक बर्षदेखि महिलाकोे उच्च शिक्षालाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले आगामी बर्षदेखि छोरीबुहारी उच्च शिक्षा अध्ययन सञ्चालन गर्न नीति तथा कार्यक्रममा उल्लेख छ।
मंगलबार भीमदत्त नगरको नगर सभाबाट मेयर पदम बोगटीले आउँदो बर्ष उक्त नयाँ कार्यक्रम सञ्चालनमा ल्याइने बताए। मेयर बोगटीले नगर सभाबाट पारित गर्दै कार्यबिधी बनाएर अघि बढ्ने बताए।
‘आर्थिक रुपमा विपन्न समुदायका छोरीबुहारीको उच्च शिक्षामा पहुँच बृद्धि गर्न नगरपालिकाले यो नयाँ कार्यक्रम ल्याएको हो,’ मेयर बोगटीले भने, ‘यस कार्यक्रमबाट आर्थिक अभावमा उच्च शिक्षाबाट बञ्चित हुने महिला, छोरीबुहारी समावेस हुन्छन्।’