शुक्लाफाँटामा हात्तीपाइले पहिचान गर्न शिविर सञ्चालन, २३ जनामा देखियो हाइड्रोसिल

२०८२ असार ९ सोमबार १८:४०:०० मा प्रकाशित

महेन्द्रनगर। शुक्लाफाँटा नगरपालिकामा हात्तीपाइले रोगको खोजपड्ताल तथा हाइड्रोसिल स्क्रिनिङ शिविर सम्पन्न भएको छ। महाकाली प्रादेशिक अस्पतालको आयोजना तथा नगरपालिकाको समन्वयमा शिविर सम्पन्न भएको हो।

शिविरमा २३ जनाको हाइड्रोसिल परीक्षण गरिएको अस्पतालका औलो निरीक्षक दिपेन्द्र रावलले बताए। उनका १३ जनामा सामान्य प्रकृति र १० जनामा जटिल प्रकृतिको हाइड्रोसिल (अण्डकोष वरिपरीको बोक्रोमा पानी जम्ने) समस्या देखिएको छ।

जटिल प्रकृतिको समस्या देखिएकाहरुको सल्यक्रिया गर्नुपर्ने उनले बताए। ‘हाइड्रोसिलको समयमै उपचार नगरेमा हात्तेपाइले हुन सक्छ,’ उनले भने, ‘शुक्लाफाँटाका २/३ ठाउँमा शिविर सञ्चालन गरेर उनीहरुको पहिचान र उपचार गर्नुपर्ने आवश्यकता छ।’

शिविरमा सहभागीहरुको अवस्था पहिचान र आवश्यक परामर्श प्रदान गरिएको उनी बताउँछन्। ‘हात्तीपाइले लामखुट्टेबाट सर्ने परजीवीजन्य रोग हो, लामो समयसम्म उपचार नगरे जटिल अवस्था आउँछ,’उनले भने, ‘प्रारम्भिक लक्षणमा ध्यान दिएर समयमै औषधी सेवन तथा उपचार गरेमा यो रोग रोकथाम गर्न सकिन्छ।’

हाइड्रोसिल विभिन्न कारणले हुने गरेपनि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हात्तीपाइले रोगबाट हुने हाइड्रोसिल देखिन्छ। स्वास्थ्य शिविरमा पिपलाडी स्वास्थ्य चौकी र महाकाली अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।