शुक्लाफाँटा नगर पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपनाको निरन्तरता घोषणा भएको छ। एक कार्यक्रमकाबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणाको प्रमाण पत्र शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महरालाई हस्तान्तरण गरे। नगरपालिकाभित्रका सम्पूर्ण बालबालिकालाई सबै प्रकारका खोपहरु लगाई सकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले बताए।
उनका अनुसार १५ वर्षसम्मका १ हजार ९४ बालबालिका र १६ महिनादेखि ५९ महिनासम्मका ३ हजार ९ सय ३९ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको छ। ‘नगरभित्र खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी गरेर ३३ बालबालिकालाई पनि खोप लगाएका थियौं,’ उनले भने।
कार्यक्रममा स्वास्थ्य संस्था प्रमुखहरु र स्वयंसेविकाहरुलाई सम्मान समेत गरिएको थियो। खोप कार्यक्रमलाई प्रभावकारी, समावेशी र दीगो बनाउँदै नगरपालिकाभित्रका सम्पूर्ण बालबालिकालाई आवश्यक सबै खोप उपलब्ध गराउने उद्देश्यसहित ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा’ गरिएको छ।
घोषणासँगै समुदायस्तरमा जनचेतना अभिवृद्धि, खोप सेवाको पहुँच वृद्धि र स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरूलाई थप सक्रिय गराइने बताइएको छ। स्थानीय सरकारहरूमार्फत् कार्यक्रमको निगरानी, अनुगमन र सहजीकरण गरिनेछ।
स्वास्थ्यकर्मीहरूले जनस्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार खोप भएकाले यस अभियानले बालबालिकालाई बचाउने र रोग नियन्त्रणमा दीर्घकालीन योगदान पुगाउने विश्वास व्यक्त गरेका छन्।
कञ्चनपुरलाई २०७२ सालमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। त्यसयता हेरक वर्ष कञ्चनपुरका पालिकाहरु र जिल्लास्तरमा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा कार्यक्रम गरिदै आएको छ।