फेसबुक लाइभ भिडिओ अब ३० दिनपछि आफैं डिलिट हुने
काठमाडौं। फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ। मंगलबार एक ब्लग पोस्टमार्फत मेटाले यो नयाँ नियमबारे जानकारी दिएको हो। यसअघि लाइभ भिडिओ अनिश्चितकालसम्म फेसबुकमा सुरक्षित रहन्थ्यो। फेसबुकका अनुसार यो नयाँ नीति फेब्रुअरी १९ अर्थात् आजैदेखि लागू हुनेछ।
यसको मतलब अब ३० दिनभन्दा पुराना लाइभ भिडिओहरू फेसबुकबाट हट्नेछन्। तर, फेसबुकले भिडिओ हटाउनुअघि प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाउनेछ। प्रयोगकर्ताहरूले ती भिडिओहरूलाई के गर्ने भन्ने निर्णय गर्न ९० दिनको समय पाउनेछन्। यो अवधिमा प्रयोगकर्ताले भिडिओ डाउनलोड गर्न, क्लाउडमा राख्न वा रिल्स बनाएर फेसबुकमै राख्न सक्नेछन्।
फेसबुकले प्रयोगकर्ताहरूलाई पुराना भिडिओहरू डाउनलोड गर्न थप समय चाहिएमा डिलिट गर्ने प्रक्रिया ६ महिनासम्म रोक्न सकिने सुविधा पनि दिएको छ। तर, यदि ६ महिनाभित्र पनि कुनै निर्णय गरिएन भने भिडिओहरू स्थायी रुपमा डिलिट हुने कम्पनीले जनाएको छ।
फेसबुकले आफ्ना प्रयोगकर्तालाई पुराना लाइभ भिडिओहरू सुरक्षित राख्न नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरेको छ। प्रयोगकर्ताले ‘डाउनलोड लाइभ भिडिओज’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडिओहरू एकैपटक डाउनलोड गर्न सक्नेछन्। ‘ट्रान्सफर लाइभ भिडिओ’ मा क्लिक गरेर ड्रपबक्स वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा पनि भिडिओहरू राख्न सकिने छ।
फेसबुकले यो नयाँ परिवर्तनलाई रिल्स प्रवद्र्धन गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको छ। किनकि लाइभ भिडिओ हटाउने क्रममा प्रयोगकर्ताहरूले आफ्ना महत्त्वपूर्ण पलहरूलाई रिल्समा परिवर्तन गरेर आफ्नो पेजमा राख्न सक्नेछन्। फेसबुकको यो कदमलाई कतिपयले स्वागत गरेका छन् भने कतिपयले आलोचना गरेका छन्।
कतिपय प्रयोगकर्ताले अनिश्चितकालसम्म भिडिओ राख्न पाउने सुविधा हटाउनु दुःखद भएको बताएका छन्। तर, फेसबुकले यो परिवर्तनले प्रयोगकर्ताहरूलाई नयाँ अनुभव दिने र स्टोरेज पोलिसीलाई उद्योग मापदण्डसँग मिल्ने बनाउने बताएको छ।